काठमाडौँ: काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा आइतबार बिहानै एक शंकास्पद वस्तु फेला पर्यो। भक्तपुरको मनहरा फाँटस्थित बास्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
लगत्तै, प्रहरीको समन्वयमा नेपाली सेनाको टोली पुगेर उक्त शंकास्पद वस्तु निस्क्रिय पारेको छ। भक्तपुर प्रहरी परिसरका डिएसपी राजु पाण्डेका अनुसार अब फोरेन्सिक ल्याबमा लगेर उक्त शंकास्पद वस्तुको बारेमा अनुसन्धान हुनेछ।
शंकास्पद वस्तु फेला पर्दा एमाले पोलिटब्यूरो सदस्य समेत रहेका बास्कोटा भने घरमा थिएनन्। काभ्रेमा आयोजित धन्यवाद सभामा व्यस्त भएका बास्कोटा अहिले आफ्नै गृहनगरमा आयोजित कार्यक्रममा छन्।
गत फागुन २८ गते पनि बिहानै पनि उनको घरमा बम विस्फोट भएको थियो। यसरी पटक पटक भएको बम विस्फोटले आफूलाई ‘सुरक्षा थ्रेट’ बढेको बास्कोटा बताउँछन्।
घटना बारे बाँस्कोटाले आफुलाई सुरक्षा बढेको प्रतिक्रिया दिएका छन्।
