काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग भेटघाट तथा छलफल गरेको छ ।
उक्त छलफलमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आइएमअफका प्रतिनिधिसमक्ष आग्रह गरेका छन् ।
सिबिफिनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँगको छलफल बैठकमा आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिदा ब्याजदर समेत उच्च भइ मुद्रास्फिति बढेको बताएमि छिन् । वर्तमान विषम परिस्थितिलाई सहज बनाउनका लागि सबै देशहरुले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उनले बताइन् ।
नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको वीचमा रहेकोले नेपालले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने उनको सुझाव छ ।
त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फण्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफै पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गर्दै, त्यसको प्रत्यक्ष असर आयातमा परेको बताए ।
उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरुको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमा मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने बताए ।
सिविफिनका उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रहरुमा आइएमएफ र सिबिफिनवीच पारस्पारिक सहयोग र सहकार्य अत्यावश्यक रहेको बताएका छन् ।
