काठमाडौं: तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३÷११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको छ ।
सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको हो ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना’मार्फत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ ।
घिरिङ सबस्टेसनमा ६÷८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँका भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत आपूर्ति हुने छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताहरुले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाउने छन् ।
आयोजनाअन्तर्गत नै तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ मा ३३÷११ केभीको सबस्टेसन निर्माणा अन्तिम चरणमा छ । यसैगरी, तनहुँको मार्कीचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने ३३ केभी लाइनको निर्माण पनि अन्तिम चरणमा छ । आयोजना अन्तर्गत तनहुँ जिल्लाका विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका ७० वटा नयाँ वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।
दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जे.भी.सँग २०७५को मंसिरमा ठेक्का सम्झौता भएको थियो । ग्रामिण विद्युतीकरण अन्र्तगतका सम्पूर्ण कार्यहरुचालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।
Trending
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
