काठमाडौँ: सेयर बजार सूचक माप नेप्से मंगलबार दोहोरो अंकले बढ्ला उच्च सेयरमूल्य वृद्धि हुने कम्पनीमा लघुवित्त अगाडि देखिउका छन् ।
धेरैजसो लघुवित्तको लाभांश घोषणा बाँकी हुँदा लगानीकर्ताहरु लघुवित्तको सेयर खरिदतर्फ आकर्षिकत बनेका हुन् । झण्डै पाँच दर्जन लघुवित्त कम्पनीहरु नेप्सेमा सूचीकृत रहेपनि हालसम्म आधा दर्जन बढीको मात्र लाभांश घोषणा भएको छ । लाभांशमा आधारित लगानी गर्ने बढ्दा लघुवित्तको सेयरमूल्यमा धेरै वृद्धि देखिएको हो ।
सोमबार झिनो अंकले बढेको बजारमा मंगलबार दोहोरो अंकको वृद्धि देखिएपनि कारोबार रकम एक अर्बभन्दा तल नै रहेको छ । सानो पुँजीकरण भएका कम्पनीको सेयरमूल्यमा आएको वृद्धि र नेपाल टेलिकमको सेयरमूल्य करिब २ प्रतिशतले बढेपछि नेप्से वृद्धिमा टेवा पुगेको हो । यद्यपी लगानीकर्ताहरु अझैपनि ‘पर्ख र हेर’ को रणनीतिमा रहेकाले सूचक वृद्धिको अनुपातमा कारोबार रकममा आशातित सुधार देखिएको छैन । चार दिन घटेपछि सोमबार नेप्से बढ्ने क्रम सुरु भएकोमा मंगलबार थप वृद्धि आएको हो ।
मंगलबार २५७ स्क्रिप्ट कारोबारमा आउँदा ३० लाख २२ हजार ५२ कित्ता सेयर २३ हजा ३४४ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकममा नेपाल टेलिकम ५ करोड ३८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिभिल बैंक र हिमालयन डिष्टिलरी परेका छन् । दिनभरमा ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन नेप्से सूचक १४.२२ अंकले बढेर १८७३.११ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २५७मध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने धौलागिरी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आँधीखोला लघुवित्तको सेयर मूल्य १३७ रुपैयाँ बढेर १५०७ रुपैयाँ, श्रृजनशील लघुवित्तको ९०.६० रुपेयाँ बढेर ९९६.६० रुपैयाँ र धौलागिरी लघुवित्तको सेयरमूल्य ५४.५० रुपैयाँ बढेर ६००.२० रुपैयाँ पुगेको छ ।
यसैगरी सिवाईसी नेपाल ७.६२ प्रतिशत, मन्दाकीनी हाइड्रोपावर ४.७१, नारायणी डेभलपमेन्ट बैंक ४.३२, खप्तड लघुवित्त ४.०३, शिवश्री हाइड्रोपावर ३.८५, रसुवागढी हाइड्रोपावरको ३.८४ र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ३.५३ प्रतिशतले बढेको छ ।
