काठमाडौँ: हेफर इन्टरनेसनल नेपालले उन्नत जातका ४२ वटा बाच्छाबाच्छी नेपाल ल्याएको छ । कोरियाबाट एसियाना एयरलाइन्सको जहाजमा ल्याइएका बाच्छाबाच्छी आज साँझ ५ बजे काठमाडौँ आइपुगेको हेफर नेपालले जानकारी दिएको छ ।
हेफरले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गर्ने १ सय २१ बाच्छा र बाच्छीमध्ये आज ४२ वटा काठमाडौँ आइपुगेका हुन् । आज आइपुगेकामध्ये ३६ बाच्छी र ६ बाच्छा रहेका छन् ।
निःशुल्क रूपमा उपलब्ध गराउने ती बाच्छी र बाच्छा सबै ६ देखि ९ महिनाका छन् । शुद्ध होलेस्टेन जातिका भनिएका ती बाच्छी डेढ वर्षपछि ब्याउन योग्य हुनेछन् र एउटा ब्याएको गाईले दैनिक ३० लिटर दूध दिने बताइएको छ ।
पहिलो चरणमा बिहीबार ४२ वटा बाच्छाबाच्छी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पशु विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । भोलि पनि हेफरले २१ वटा बाच्छी ल्याउने जानकारी दिएको छ । त्यसपछि पुस २५ र २६ गते हेफरले कोरियन एयरलाइन्सबाट पनि उन्नत जातका बाच्छाबाच्छी ल्याउन लागेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले माग गरेअनुसार हेफरले यी बाच्छाबाच्छी उपलब्ध गराउन लागेको हो ।

