काठमाडौँ: कालिका पावर कम्पनीको साधारण शेयर (आइपीओ) आजबाट बिक्री खुला गरिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यसमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता शेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपीओ न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिन्छ।
लगानीकर्ताले छिटोमा असोज १ गतेसम्म आवेदन दिई सक्नुपर्नेछ। यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असोज २८ गतेसम्म खुला रहनेछ । यसको विक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
कालिकाले जारी पुँजीको २० प्रतिशत आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । आइपीओ बिक्रीपछि चुक्ता पुँजी ६० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा चुक्ता पुँजी ६३ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । यसैगरी, आव २०७६।७७ मा ६६ करोड १५ लाख र २०७७।७८ मा ६९ करोड ४५ लाख ७५ हजार रुपैयाँ पुँजी पुर्याउने प्रक्षेपण छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयलाई ६ लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ । पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १०% आइपीओ बिक्री गरिएको थियो । यस कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए, जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि कालिकाको आइपीओलाई औसत भन्दा कम ४ ग्रेड रेटिङ दिएको छ ।