काठमाडौँ: साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। आइतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५७ स्टकको ७४ हजार ५४३ पटकको कारोबारमा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ। जलविद्युत कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै यस उपसमूहको परिसूचक पनि सबैभन्दा बढी बढेको हो। यस दिन विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
सोमबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सकारात्मक सर्किट लेभलमा कारोबार हुने कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी रहेका छन्। कारोबारमा आएको स्वाभिमान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ३.५७ प्रतिशत घटेको छ। अन्य स्टकको मूल्य गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप र एनआईसी एशिया बैंकको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
