काठमाडौँ: बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए ।
हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित एक सय १० जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।
बागमती प्रदेशमा मुख्यमन्त्रीका रुपमा पहिलो कार्यकालमा डोरमणि पौडेल, दोस्रो कार्यकालमा अष्टलक्ष्मी शाक्य र निवर्तमान मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डे हुनुहुन्थ्यो ।
