काठमाडौँ: पछिल्लो समय ठूला उद्योगहरुमा भएको विद्युतको निरन्तर अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको भन्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले संयुक्त विरोध जनाएका छन् ।
उद्योग क्षेत्रमा पछिल्लो समय दैनिक आठ घण्टासम्म विद्युतको अनियमित कटौति र अत्यधिक ट्रिपिङको समस्याका कारण उद्यागहरु मरणासन्न अवस्थामा पुगेको उनीहरुले बताएका छन् ।
विगतको अस्थिर र अन्यौलताको वातावरण, शिथिल अर्थतन्त्र एवं वित्तिय क्षेत्रको विद्यमान समस्याका कारण मारमा रहेको उद्योग व्यवसाय क्षेत्र पुनः अघोषित लोड सेडिङको मारले थलिनु परेको आरोप उनीहरुको छ ।
“वैंक तथा वित्तिय क्षेत्रमा विद्यमान समस्या समाधानको खोजी हुँदै गर्दा निजीक्षेत्र नयाँ सरकारको गठन भएसंगै समस्या समाधानमा सकारात्मक पहलहुने कुरामा आशावादी रहदै पर्ख र हेरको अवस्थामा छ,” संयु्क्त विज्ञप्तीमा भनिएको छ , “विद्युत आपूर्तिमा अवरोध भई उद्योगी व्यवसायी माथि बज्रपात थपिएको छ । वित्तिय क्षेत्र, विद्युतको क्षेत्र लगायत एकपछि अर्को समस्याहरु थपिरहने, कहिले कुन बेला कस्तो अवस्था आउछ पूर्व अनुमान गर्न नसकिने अवस्थाले औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको छ । ”
तीनवटै सँस्थाले उद्योग व्यवसाय क्षेत्र विद्यमान अघोषित विद्युत कटौती तथा ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरेका छन् । साथै, वित्तिय क्षेत्रमा रहेको तरलता अभाव लगायतका बिषयहरुमा सुधार हुने संकेत देखापरेको यस्लाई पूर्णरुपमा रिकभर गर्न एवं यस्लाई स्थिर बनाउन दिर्घकालीन योजना बनाई निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागी वित्त वा उर्जा सबै क्षेत्रमा अनुमानयोग्य औद्योगिक नीति तथा अनुमानयोग्य उद्योगमैत्री वातावरण तयार गर्न उनीहरुको माग छ ।

