काठमाडौं: नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थिति मात्रै नभएर चालु खातामा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको ५ महिनामै करिब ३ खर्बले घाटामा रहेको चालु खाात चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३८ अर्बले मात्रै घाटामा रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको ५ महिनामा २९८ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ९१ करोडले मात्रै घाटामा रहेको छ ।
चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ५ महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.० प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । जस अनुसार रेमिट्यान्स ३ अर्ब ७१ करोड डलर रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो रकम ६.८ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार पहिलो ५ महिनामा खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।
