काठमाडौँ: औद्योगिक क्षेत्रमा अवरुद्ध हुँदै आएको विद्युत् आपूर्ति सहज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपालको आवश्यकता अनुरूप विहारबाट विद्युत् नआउँदा नेपाल विद्युत् प्राधिकरणले गत साता ठूला उद्योगहरूमा पिक समयमा ८ घण्टासम्म विद्युत् कटौती गर्ने गरेको थियो ।
प्राधिकरणको भार प्रेसण केन्द्रका अनुसार पछिल्ला तीन दिनमा विहारले अवरुद्ध गर्दै आएको विद्युत् आपूर्ति क्रमिक रुपमा बढाउँदै लगेको छ । यसले गर्दा अहिले आवश्यक पर्दा अनौपचारिक रुपमा पीक समयमा करिव २ घण्टासम्म मात्रै ठूला उद्योगमा विद्युत् कटौती हुने गरेको छ । केन्द्रका अनुसार नेपाल भारत विद्युत् आदान प्रदान हुने सबै जसो प्रसारणलाइनबाट विद्युत् आपूर्ति सुचारू भएको छ ।
प्राधिकरणले रक्सौल– परवानीपुर १३२ केभि, रामनगर –गण्डक १३२ केभि, टनकपुर– महेन्द्रनगर१३२ केभिबाट विद्युत् आदान प्रदान गर्दै आएको छ । त्यस्तै ३३ केभि क्षमताका सुरसाँद–जलेश्वर, नानपारा–नेपालगञ्ज, रक्सौल– वीरगञ्ज प्रसारणलाइनबाट पनि विद्युत् आंशिक आपूर्ति भइरहेको जनाएको छ । ४ सय केभि क्षमताको ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय मेगावाट सम्म विद्युत् कारोबार गर्न मिल्छ । इन्डियन इनर्जी एक्सेचेन्ज सँग विद्युत् खरिद बिक्री यही प्रसारणलाइनमार्फत हुने गर्छ ।
भारतबाट गत पुस २५ गते देखि भारतबाट आउने विद्युत् आपूर्ति अवरुद्ध हुन थालेको थियो । विहारका विद्युत् केन्द्र मर्मतका कारण नेपाल आउने विद्युत् अवरुद्ध हुन थालेको हो । पुस २६ २७ २८ र २९ गते ठूलो परिमाणमा विद्युत् आउन नसक्दा तराई क्षेत्रका अधिकांश ठूला उद्योगले पर्याप्त विद्युत् पाउन नसक्ने अवस्था आएको थियो ।
पुस २६ मा पिक डिमान्डको समयमा प्राधिकरणले २६० मेगावाट विद्युत् अभाव खेपेको थियो । प्राधिकरणको विद्युत् आपूर्ति प्रणालीमा २७ गते २ हजार ३५८ मेगावाट विद्युत् अवरुद्ध भएको थियो भने २८ गते अझै बढेर २४ सय ५५ मेगावाट घण्टा सम्म पुगेको थियो । यसले गर्दा यो दुई दिन प्राधिकरणले ठूला उद्योगमा १० घण्टासम्म दैनिक लोड कटौती गरेको देखिन्छ ।
तर २९ गतेदेखि भने अवस्था केही सुधार भएर प्रणालीमा १३ सय ५५ मेगावाट घण्टा र ३० गते १३ सय १० मेगावाट घण्टा विद्युत् अपुग हुँदा प्राधिकरणले उद्योगको लोड कटौती घटाउँदै लगेको थियो ।
माघ १ गते ठूला उद्योगमा औसत २ घण्टा जतिमात्र विद्युत् कटौती भएको केन्द्रको तथ्याङ्कले देखाउँछ । केन्द्रका अधिकारीका अनुसार दुई दिन भित्र सबै आयात विन्दुबाट क्षमता र आवश्यकता अनुसार विद्युत् आपूर्ति गर्न पाइने देखिएकाले उद्योगको लोड कटौती गर्नुपर्ने अवस्था पनि अन्त्य हुनेछ ।

