काठमाडौँ: रिट निवेदन दर्ता हुनासाथ एकपक्षीय सुनुवाईका आधारमा अन्तरिम आदेश जारी गरेको सर्बोच्च अदालतले बल्ल एनसेल करछलीका विवरण तथा फाइल झिकाउने आदेश दिएको छ।
एनसेल कर छली मुद्धाको अन्तरिम आदेशले साँढे २३ अर्व रुपैयाँ रकम विदेशिएको झन्डै ८ महिनापछि सर्वोच्चले फाइल अध्ययनको आवश्यकता महसुस गरेको हो।
एनसेलका आधा दर्जनभन्दा बढी मुद्धामा करदातालाई नै फाइदा पुग्ने गरी आदेश जारी गर्दै सर्वोच्चले आठ महिनाअघि बृहत पूर्ण इजलास पठाएको थियो।
उक्त मुद्दामा सुनुवाई गर्दै न्यायाधीशहरु दीपकुमार कार्की, प्रकासमान सिंह राउत, तेजबहादुर केसी, डम्बरबहादुर शाही र टंक बहादुर मोक्तानको बृहत पूर्ण इजलासले मुद्दाका फाइल झिकाउने आदेश दिएको हो।
फाइल अध्ययनपछि यदि कर चलेको पुष्टी भएमा सर्वोच्च अदालतको आदेशबात बाहिरिएको रकम अव फिर्ता हुने सम्भावना छैन।
एनसेल कर विवाद नेपालका न्यायाधीशहरुलाई विवादको घेरामा परेको चर्चित मुद्दा हो यो।
मुद्दा किनारा लगाउने क्रममा टुङ्ग्याउनुपर्ने विवादलाई अन्तरिम आदेशमै सम्बोधन गरिदिएकोले न्यायका सामान्य सिद्धान्तमै प्रहार गरिएको भन्दै आलोचना भएको थियो।
‘आदेश निकै अर्थपूर्ण छ,’ यो मुद्धालाई नजिकबाट नियालिरहेका एक न्यायाधीशले भने, ‘ फाइल नै नहेरी संयुक्त इजलाशले मुद्दामा गम्भीरता र जटिलता कसरी देख्यो, त्यो अचम्मलाग्दो हो। अनतरिम आदेश दिने, मुद्दामा गम्भीरता देखेपछि बृहत इजलासमा पनि पठाउने। अनि अहिले आएर फाइल अध्ययनका लागि आवश्यक ठानु कताकता नमिलेजस्तो देखिन्छ।’
एनसेल विवादमा ६ वटा मुद्दा
सर्वोच्च अदालतमा एनसेलको कर विवाद जोडिएका छुट्टाछुट्टै छ वटा मुदा विचाराधिन छन्। जसमा चारवटा मुदालाई एउटै समूह (लगाव) मा हालेर सुनुवाई हुँदै छ भने एनसेलमा लगानी गरेको सिनर्जी नेपाल प्रालिको कर विवाद जोडिएको मुद्दा छुट्टै सुनुवाई भइरहेको छ। सार्वजनिक सरोकारका रुपमा दर्ता भएका दुइ मुद्दाबाहेक सबैमा अन्तरी आदेश जारी भएको छ।
ती मुद्दा अन्तरिम आदेशपछि लामो समय पेसी सुचीमा चढ्दै सर्दै आएका छन्।
रेनोल्ड होल्डिङ्स र एनसेलले दायर गरेको मुद्दामा २०७४ साल पुस ३ गते अन्तरिम भयो भने ९ गते अन्तरिम आदेशलाई निरन्तरता दिने अर्को आदेश भयो।
सुरुमा न्यायाधीश डम्बरबहादुर शाहीले अन्तरिम आदेश दिएका थिए भने ६ दिनपछि ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दियो।
यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र कृष्ण आचार्यले पृष्ठ १५ मा लेखेका छन्।