काठमाडौं: यातायात व्यवसायीले प्रहरीको भ्यानमा आगजनी गरेका छन् । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको दुइटा भ्यानमा आगजनी गरेका हुन् । बालजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् ।
प्रदर्शनमा उत्रेका यातायात व्यवसायीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।
आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् ।
ट्राफिकले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको चालकहरुले बताएका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेस्याइएको छ ।
यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन् । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका हुन् ।
