काठमाडौँ: कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भारतको मुम्बइस्थित नेशनल बर्न सेन्टरमा पठाइएको जानकारी दिए।
दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएका सांसद भण्डारीलाई बिहीबार श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने तयारी भएको हो।
स्वास नलीमा जलनले असर र सुन्नीन सक्ने जोखिम भएकाले स्वास नलीमा पाईप राखी (ईन्टुबेसन गरी) अक्सिजन दिँदै एयर एम्बुलेन्समार्फत नर्भिक अस्पतालको चिकित्सकिय टिम सहित मुम्बई रिफर गर्ने तयारी भएको हो।
स्वास्थ्य अवस्था जटिल भएपछि भण्डारीलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो।
ग्यास सिलिन्डर बिस्फोटमा परेर घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार बिहान १०:५७ बजे मृत्यु भएको हो।
