काठमाडौँ: नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५० प्रतिशत हकप्रद शेयर भर्ने समय दुई दिन बाँकी रहेको छ । संस्थाले जारी गरेको हकप्रदमा आइतबारसम्म आवेदन दिन पाइनेछ । यस आधारमा शुक्रबार र आइतबार गरी जम्मा २ दिन मात्र समय उपलब्ध हुनेछ ।
नयाँ नेपालले गत साउन २७ गतेदेखि २५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः२.५ अनुपातमा ६ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । सय रुपैयाँ अंकित मूल्यको यो हकप्रद साउन ६ गतेसम्म कायम सेयरधनीले मात्र भर्न सक्नेछन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिने व्यवस्था छ ।
हाल यस लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।