काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन्।
अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठकलाई कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन संकटमा परेको दाबी गरेका छन्।
‘पहिले के-के न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन त्यो गठबन्धन भत्किने हो, ठेगान छैन,’ उनले भने।
उनले कुनै पनि बेला गठबन्धन टुट्न सक्ने बताए।
‘यो गठबन्धन कुनै पनि बेला टुट्न सक्छ। राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्छ,’ उनले भने, ‘सबै पद आफैं लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्र भन्न सकिन्छ।’
उनले नयाँ राजनीतिक कोर्सका लागि एक साता मात्रै कुर्न आग्रह गरेका थिए।
‘अहिले देखिरहनु भएको छ, एक किसिमको गठबन्धन छ। गठबन्धनमा राजतन्त्रलाई फेरि ल्याउनुपर्छ भन्ने तत्व पनि छन्, प्रतिगामीहरू,’ उनले भने, ‘संघीयता विरोधीहरू पनि छन्। अनि त्यहाँ वामपन्थी पनि छन्। संविधान विरोधी पनि छन्। संविधानका रक्षक पनि छन्।’
उनले यसभन्दा अघिको गठबन्धन संविधानको रक्षकहरू भएको गठबन्धन रहेको पनि बताएका थिए।
