काठमाडौँ: लगानी बोर्ड नेपालको आयोजनामा नेपाल सरकारका विभिन्न निकाय र लगानी बोर्डको कार्यालयका अधिकारीहरूको दक्षता विकासका लागि चार दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
एसियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा ‘सीपी३पी (र्टिफिकेट पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल): द एपीएमजी पीपीपी सर्टिफिकेसन प्रोग्राम’ सञ्चालन गरिएको हो।
यस प्रशिक्षण कार्यक्रमबाट सार्वजनिक–निजी साझेदारीका परियोजना तयारी, स्ट्रक्चरिङ, मार्केट साउण्डिङ, विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि भइ पीपीपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डको कार्यालय पीपीपी परियोजना कार्यान्वयनका लागि विशिष्टीकृत निकाय भएकाले उर्जा र गैर उर्जा क्षेत्रका पीपीपी परियोजना सफलतापूर्वक अघि बढाउन परियोजना तयारी, जोखिम न्यूनीकरण, प्रोजेक्ट प्रोक्योरमेन्ट एवं कार्यान्वयन तथा सञ्चालनका सम्पूर्ण चक्रमा दक्षता र विशेषज्ञता आवश्यक पर्ने बताए।
लगानी बोर्डले यस प्रकारका व्यावसायिक ज्ञान, दक्षता र विशेषज्ञता हासिल तथा उपयोग गर्दै पीपीपी परियोजनाहरूमा उपलब्धि हासिल गर्ने र उक्त ज्ञान, दक्षता, विशेषज्ञता तथा अनुभव संग्रहित गरी लगानी बोर्डलाई पीपीपी विशेषज्ञता केन्द्रको रूपमा विकास गरिने उनको भनाइ थियो।
प्रमुख कार्यकारी अधिकृत भट्टले पीपीपी आफैंमा जटिल विषय रहेको चर्चा गर्दै जनशक्तिको दक्षता अभिवृद्धिमा एडीबीको सहयोगको प्रसंशा गरे।
पीपीपी सर्टिफिकेसन प्रोग्राममा आधारभूत चरण, तयारी चरण र कार्यान्वयन चरण गरी तीन चरण समावेश छन्। यी तीनै चरणका कार्यक्रममा सहभागी भई उक्त चरणहरू सम्बन्धित ज्ञान प्रदर्शन गरेमा ‘सीपी३पी (र्टिफिकेट पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल) : द एपीएमजी पीपीपी सर्टिफिकेसन प्रोग्राम’ प्रमाणपत्र प्रदान गरिन्छ।
बोर्डका अनुसार अहिले आयोजना भैरहेको कार्यक्रम आधारभूत चरण अन्तर्गत हो, जसमा प्रशिक्षार्थीले पीपीपी परियोजनाको एक जानकार सदस्यको रूपमा काम गर्नका लागि पर्याप्त ज्ञान र बुझाइ विकास गरिनुका साथै त्यसको परीक्षण गरी प्रमाणपत्र जारी गरिन्छ। व्यवसायिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि यो चरणको ज्ञान र बुझाइ पूर्वशर्तको रूपमा रहेको छ।
कार्यक्रमको उद्घाटन सत्रमा एडीबीको नेपालस्थित मिसनका राष्ट्रिय निर्देशक आर्नो कोश्वा तथा प्रशिक्षक अमनदीप सिंहले समेत सम्बोधन गरेका थिए।
एडीबीका राष्ट्रिय निर्देशक कोवाले पीपीपी सम्बन्धी ज्ञान र दक्षता अभिवृद्धी गरी त्यसलाई राष्ट्रिय र क्षेत्रीय परिदृश्य अनुसार अभ्यास गर्न सकिने उल्लेख गर्दै लगानी बोर्ड तथा सम्बन्धित मन्त्रालयहरूलाई पीपीपी सम्बन्धी क्षमता विकासमा यो तालिम कार्यक्रम प्रस्थान बिन्दु भएको भन्दै आगामी दिनमा पीपीपी परियोजना सम्बन्धी अवधारणा, पीपीपी स्क्रिनिङ, परियोजनाका लागि उपयुक्त मोडालिटी तथा ट्रान्ज्याक्सन एड्भाइजरी जस्ता वृहत र गहन सहकार्य अघि बढाउन सकिने उल्लेख गरे।
