काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् ।
उनले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’
परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउँदै उनले त्यसका लागि सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन् ।
