बारा: बारा निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार मतान्तरले हराउँदै यादव विजयी भएका हुन्।
अन्तिम मतपरिणामअनुसार विजयी यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने पराजित जनमत पार्टीका उम्मेदवार कुशवाहालाई २३ हजार ३ सय ३४ मत प्राप्त भएको छ। यादव र कुशवाहाबीच मतान्तर ५ हजार ८ छ।
यो क्षेत्रमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल निकै ठूलो मतान्तरका साथ तेस्रो स्थानमा पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले पनि निकै कम मत पाएका छन्।
एमालेका उम्मेदवार पौडेलले १० हजार २ सय १६ मत पाउँदा खरेललाई २ हजार ८ सय २९ मत मात्र प्राप्त भएको छ।
