काठमाडौं: निर्माला पन्त बलात्कारपछिको हत्याले झन् गिरीरहेको प्रहरी संगठनको शाख शनिबार साँझ झन् गिरेको छ जव अख्तियारले एकैपटक नौं जना प्रहरीलाई घुससहित रंगेहात पक्राउ गर्यो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको काँडाघारी र कोटेश्वरमा छुट्टाछुटै अप्रेशन गर्दै नौं जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको हो।
घुससहित अख्तियारले पक्राउ गर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत ठिमीमा कार्यरत सुवास ढुंगानासहित ९ जना रहेका छन् ।
आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकमसहित कोटेश्वरको मुनिभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको हो।
लुम्बिनी तन्दुरी भोजनालयबाट आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेश पटेललाई पनि नियन्त्रणमा लिएको छ। पटेलको साथबाट ५ हजार घुस रकम बरामद गरिएको अख्तियारको बिज्ञप्तिमा जनाइएको छ ।
आयोगले काँडाघारीबाट अन्य सातजना प्रहरीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा दुईजना प्रहरी सहायक निरीक्षक (असई), दुई हवल्दार र चार जना प्रहरी जवान रहेका छन् ।
काँडाघारी र कोटेश्वर क्षेत्रबाट ९ प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले भने, ‘असईदेखि सिपाहीसम्म ९ जना नियन्त्रणमा लिएका छौं ।’
प्रहरी कर्मचारीहरुले मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै ठेकेदारसँग घुस मागेको अख्तियारले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट आयोगको टोलीले कुल एक लाख नगद बरामद गरेको छ ।
बालुवाको सेटिङ मिलाईदिने भन्दै घुस रकम लिँदै गरेको अभियोगमा पक्राउ पर्नेहरुमा महानगरीय प्रहरी प्रभाग ठिमीका हवल्दार दिपक भारती, काँडाघारी प्रभागका जवानहरु मानसिंह रोका र रत्न रिजाल रहेका छन् ।