काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर पक्राउ परेकाहरुलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने बताएका छन्।
कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेर बयानका क्रममा रहेका बेला उनीहरुलाई जोगाउने काम गर्न नहुने उनले बताएका हुन्।
शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो उनीहरुको निजी विषय हुने पनि उनले बताएका छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र नभइ संगठित अपराध र मानव बेचबिखन भएको उनले बताएका छन्।
‘नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो। तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन्’, उनले भनेका छन्।
थापाले पार्टीका जुनसुकै तहका नेता अपराध र भ्रष्टाचारमा मुछिएको पाइए तिनलाई सफाइ नमिलुन्जेल निलम्बन गरिनुपर्ने पनि मत राखेका छन्।
‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन। पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो-अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ। दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो’, उनले अगाडि भनेका छन्,‘यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वत: पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ। अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ। पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोली पनि मेरो धारणा यही नै रहनेछ।’
थापाले कांग्रेसका कतिपय नेताहरूबाट पार्टीमा यस्तो परम्परा नभएको भन्ने विचार पनि आएकामा उनले असन्तुष्टि जनाएका छन्। ‘यसमा पनि म प्रष्ट छु- गलत परम्परा तोडिनु पर्छ। परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन’, उनले भनेका छन्, ‘मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु।’
यो प्रकरणमा कांग्रेस र पार्टीआबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउनु पर्ने बताएका छन्।
‘आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ। जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ’, उनले थप भनेका छन्, ‘परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने र पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ।’
थापाले यस प्रकरण मात्रै नभएर अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने पनि बताएका छन्।
उनले विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दा लागिसकेपछि जोसुकै पनि सार्वजनिक पदबाट निलम्बित हुनुपर्ने दोहोर्याए।
‘विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ’, उनले भनेका छन्, ‘पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ। अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रसस्त गर्नुपर्छ। अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ। यो कानुनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली कांग्रेस पार्टीको धारणा हो। नेपाली कांग्रेस पार्टीका लाखौं आम सदस्यहरूको धारणा हो।
