काठमाडौं: निजी क्षेत्रले नेपालको कुल ग्राहस्थ्य उत्पादनमा ८१ प्रतिशत योगदान दिएको एक अध्ययनले देखाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा ‘द स्टेट अफ प्राइभेट सेक्टर’ नामक अध्ययनले उक्त तथ्यांक यकिन गरेको हो।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदानबारे पहिलोपटक अध्ययन भएर आँकडा सार्वजनिक गरिएको बताए।
‘यो अध्ययनले नेपालमा निजी क्षेत्रको योगदान के रहेछ भन्ने देखाएको छ। जसका कारण निजी क्षेत्रमैत्री नीति र व्यवहार गर्न सरकारलगायत सरोकारवालाहरुलाई मार्ग देखाएको छ। निजी क्षेत्रबिना देशको विकास हुँदैन भन्ने यो गतिलो परिणाम हो,’ ढकालले भने।
सार्वजनिक गरिएको यो अध्ययनले महत्त्वपूर्ण नतिजा दिएको भन्दै नेपालको रोजगारीमा निजी क्षेत्रको ८५ प्रतिशत योगदान रहेको जानकारी दिए।
हालसम्म यस्तो किसिमको अध्ययन नभएको भन्दै आइएफसीका नेपाल प्रतिनिधि बाबाकर सेद्ख फायले नेपालमा यो नै पहिलो अध्ययन भएको जानकारी दिए। उनले आफूहरु विश्व बैंकको साझेदार भएको भन्दै निजी क्षेत्रलाई सहयोग गर्ने भएरै अध्ययनमा सघाएको बताए।
उनले नेपालसहित सदस्य राष्ट्रहरुमा व्यापार वातावरण विकासमा काम गरिरहेको बताए। त्यसैको एउटा पाटोको रुपमा ‘द स्टेट अफ प्राइभेट सेक्टर’ अध्ययन भएको सुनाए। एफएनसीसीआइले नेपालको निजी क्षेत्र विकास र विस्तारमा गरिरहेको प्रयास उदाहरणीय भएकाले अध्ययनमा सघाएको उनको भनाई छ।
उनले निजी क्षेत्र विकासको मामलामा सधैं मध्यभागमा हुनुपर्ने धारणा राखे। यस अध्ययनले साना तथा मझौला उद्योगहरुलाई पनि समेटेको भन्दै यी क्षेत्रले भोगिरहेको विषयलाई समाधान कसरी गर्ने भन्नेसम्मको बाटो यस अध्ययनले देखाउने बाबाकरको जानकारी दिए।
यस अध्ययनका क्रममा नेपालका पाँचसय १७ फर्महरुलाई सर्वेक्षणमा सहभागी गराइएको पनि कार्यक्रममा जानकारी दिइयो।