नेपाली कांग्रेसबाट नागार्जुन नगरपालिका वडा नम्बर १ का निर्वाचित वडाध्यक्ष रामेश्वर लामाको राजनीतिक यात्रा २०७४ सालको पहिलो स्थानीय चुनावबाट सदस्यको रुपमा भएको हो। तर राजनीति, समाजसेवा र आफ्नो व्यवसायिक पेसामा भने उनी लामो समयदेखि विशेष गरी रानीबन क्षेत्रमा सक्रिय छन्। व्यवसायिक पृष्ठभूमिका लामा, वडाको सदस्यको रुपमा निर्वाचित भइसकेपछि उनले आफ्नो पुर्खेउली ब्यापार व्यवसायको पेशालाई पूर्णतः बिश्राम दिंदै राजनीति र जनताको सेवामा अहिले पूर्णकालीन रुपमा अग्रसर छन्। निस्वार्थ भावले जनताको काम र उनीहरुलाई पर्ने समस्यालाई आफ्नै समस्या ठानेर काम गर्न सके वडा स्तरमा रहेर चुनाव जित्न त्यती गार्हो नहुने तर्क उनको छ। त्यसैले वडा सदस्यको रुपमा रहेर गरेको कामले नै हाल उनलाई बैशाख ३०, २०७९ सालमा भएको वडा अध्यक्षको पद जित्न सहज भयो भन्नुहुन्छ। यसै अवसरमा, हाल काठमाडौँ महानगरदेखि वडा वडामा तार व्यवस्थापनको कुरा उठिरहेको अवस्थामा, नागार्जुन वडा नम्बर १ मा हालै बस्तीभरी रहेका अव्यवस्थित तार र पोलहरुको व्यवस्थापन गर्न वडाध्यक्ष लामा सफल भएका छन्। यो कार्य के कसरी सम्भव भयो र कस्ता चुनौतीहरुको सामना गर्नु पर्यो भन्ने बारे लिइएको अन्तर्वार्ताको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
१. यो तार र जोखिमयुक्त बिद्युतका पोलहरुका व्यवस्थापनको योजनामा रहेर काम गर्नुपर्छ भन्ने सोच तपाईंलाई पहिले कसरी आयो?
यो तार व्यवस्थापन गर्नुपर्छ भन्ने सोच वडा सदस्य हुँदादेखि कै हो । म यसै वडामा हिजो पनि वडा सदस्य थिएँ । एउटा जनप्रतिनिधि भइसकेपछि त्यो तारका कारण दुर्घटना हुने, सवारी साधन आवातजावतमा अवरोध आएको, आगलागी जस्ता घटना भएको तथा वडाको सौन्दर्यतालाई पनि बाधा पुगेका कारण तार र पोलबाट हुने जोखिम कम गर्नका लागि नै त्यसको व्यवस्थापन गर्ने काम अगाडि बढाएको हुँ।
२. महानगरले नै गर्न नसकेको काममा एउटा नगरपालिकाको वडाले लिएको तार व्यवस्थापनको अगुवाई र यस कामले पूर्णता पाएको सन्दर्भमा के भन्नुहुन्छ ?
केन्द्र तथा प्रदेश सरकारले विभिन्न नीति नियम बनाएको हुन्छ तर व्यवहारमा कार्यान्वयन भएको हुन्न । बोलेका कुरा पालना नहुँदा आमनागरिक निराश भइरहेका छन् । तर यो वडामा काम कसरी सम्भव भयो भन्ने सन्दर्भमा ‘बोल्ने भन्दा पनि व्यवहारमा काम गर्ने र काम गरेपछि बोल्ने भन्ने सिद्धान्त मेरो हो’ । त्यसकारण सम्बन्धित निकायहरु जस्तै टेलिकम, विद्युत प्राधिकरण तथा विभिन्न केवल सेवा प्रदायक कम्पनीका प्रतिनिधिसंग समन्वय गरेर यो कामको थालनी भयो । भोली हुनसक्ने कुनै पनि जोखिमलाई हटाउन सक्छ भन्ने उद्येश्यले नै यो कामको सुरुवात भएको हो ।
३ यस कार्यमा वडावासी र जनप्रतिनिधि सदस्य साथीहरुको के कस्तो साथ सहयोग रह्यो होला? केहि बताईदिनुहुन्छ कि?
वडावासी भनेको मेरा लागि भगवान हुन् । यो तार व्यवस्थापन गर्ने कुरामा दुई महिनासम्म हाम्रा वडावासीले सबै टोलमा पूर्ण रुपले साथ दिनुभयो र हाम्रा जनप्रतिनिधिहरु पनि यस कार्यक्रमका क्रममा खटिदिनु भयो । संगसंगैं पुराना पोल काट्दा अनि पून प्रयोग नहुने तार तथा काम नलाग्ने तार काट्दा हुने फोहोर व्यवस्थित गर्न सहयोग गर्ने नेप्सेम्याक सेवा प्रालिले पनि सहयोग गरेको छ। त्यसका लागि यसैमार्फत धन्यवाद दिन चाहन्छु ।

४. तार व्यवस्थापनमा आफु र जनप्रतिनिधि साथीहरुसहित लिएर आफै फिल्डमा खटिनु भएको थियो । यो कार्य गर्न कत्तिको चुनौतीपूर्ण रह्यो होला ?
सुरुमा काम गर्दा त चुनौती भइहाल्यो । विद्युत प्राधिकरण तथा टेलिकम भन्ने संस्था राज्यको ठुलो निकाय हो र यी काम त ती संस्थाहरुको व्यवसाय हो नि त । वास्तवमा आफ्नो व्यवसायका क्रममा तारको अवस्था हेरेर आफैले व्यवस्थापन गर्नुपर्ने हो । मलाई लाग्छ, विद्युत प्राधिकरणको कतिपय पोलहरु जोखिमयुक्त थियो, थ्रिफेज लाइन विस्तार भइरहेको अवस्थामा कतिपय स्थानमा अझैपनि नांगो तार नझिकेको अवस्था थियो । त्यही कुरा दश वर्षदेखि प्राधिकरणमा त्यस्ता तारका बारेमा गुनासा गर्दा सुनुवाई नभइरहेको अवस्था थियो । टेलिकमको पनि त्यस्तै अवस्था थियो । त्यसकारण यस वडाकै अध्यक्ष भएको कारणले ती संस्थामा गएर तार व्यवस्थापनका लागि मैले अनुरोध गरेँ र ती संस्थाका प्रतिनिधिलाई फिल्डमै अनुगमन पनि गराएँ । त्यसपछि उहाँहरुले यस काममा सहयोग गर्ने प्रतिवद्धता पनि दिनुभयो । “तर प्राधिकरणभन्दा पनि टेलिकमले मेरो विरुद्ध मुद्दा नै हाल्ने तयारी गरिसकेको थियो । वडाले पटक पटक भन्दा पनि सुनुवाई नभएका कारण सुरुका दिनमा सात वटा पोल काटियो यस वडामा तर टेलिकममा २७ वटा पोल काटियो र करोडौंको क्षति वडा अध्यक्षले दियो भन्ने कुरा बाहिर आयो जुन भ्रामक थियो। अफवाहमा फैलाएर मुद्दा हाल्ने प्रक्रिया भइरहेको कुरा थाहा पाएर मैले छाउनी टेलकमको कार्यालयमा गएर जोखिमपूर्ण तारको अवस्था फिल्ड अनुगमन गर्न अनुरोध गरेँ ।” फिल्डमा अनुगमन गर्दा मैले भनेजस्तै सात वटा पोलमात्रै काटिएको देखिएपछि यो कामलाई टेलिकमको समर्थन मिलेको हो ।
सुरुका दिनमा प्राधिकरण र टेलिकमबाट असहयोग भएपनि पछि आफै हाम्रो कामको समर्थन गर्दै आए । त्यसपछि हामीसंग समन्वय गरेर काम गर्ने सहमति भयो । जसरी हामीले अव्यवस्थित पोल र तारको व्यवस्थापन गर्यौ, यस काममा नगरपालिका र वडाको कुनै पनि आर्थिक खर्च भएको छैन । हिसाब गर्ने हो भने कम्तीमा १० देखि १५ लाख नगरपालिका र वडाको रकम जोगाउने काम भएको छ । यसै मिडियामार्फत यो जानकारी मेरा वडाबासीलाई दिन चाहन्छु । यस काममा प्राधिकरण र टेलिकम तथा विभिन्न सेवाप्रदायक कम्पनीकै कर्मचारी खटेका कारण कुनै पनि आर्थिक भार वडालाई परेको छैन । जनशक्ति परिचालनका लागि उहाँहरुबाट भएको सहयोगका लागि म आभारी छु । त्यसबाहेक जनशक्तिको खाजा पानीका लागि भने आफैले व्यक्तिगत रुपमा खर्च गरेको छु । साथै यहाँका स्थानीय व्यवसायीले पनि वडाको काममा सहयोग गरेका छन ।
५. एक नम्बर वडाभरीका बस्तीमा कुल कति किलोमिटर दूरी र कति केजी तार व्यवस्थापन भए होलान् र कति समय लाग्यो?
लगभग चैत ८ गतेदेखि जेठको ६ गतेसम्ममा यो कामले अन्तत: बिश्राम पाएको छ। यसक्रममा मानववस्तीलाई क्षति पुग्ने खालका जोखिमयुक्त टेलिफोन तथा विद्युतीय पोलहरु करीब १५० जति व्यवस्थापन गरेका छौं । साथै अनावश्यक तारहरुको व्यवस्थापन पनि नेप्सेम्याकले गरेको छ । क्षेत्रफलको कुरा गर्दा २५ देखि ३० किमीभन्दा बढी बाटाका तारहरु व्यवस्थापन भए भन्न सकिन्छ ।

६. आगामी दिनमा पनि पुनः तार अव्यवस्थित तरीकाले हाल्न र राख्न नदिन कस्तो रणनीति अपनाउनु भएको छ ?
अव भविष्यमा कुनै पनि सेवा प्रदायकले आफ्ना केबुल वा बिद्युतका तार राख्न आउँदा नागार्जुन नगरपालिका वडा नं १ मा तार व्यवस्थापन समिति भनेर हामीले खडा गरेका छौं। जसले अनलाइन ग्रुपमा रहेर काम र यसको समन्वय गर्ने गर्दछ।
जसमा केवल कम्पनीको तर्फबाट हामीले सचिव नियुक्त गरेका छौं भने प्राधिकरण र टेलिकमका तर्फबाट प्रतिनिधिलाई सदस्य राखेका छौं । त्यसकारण आवश्यकताका आधारमा यो समितिको बैठक बस्छ । पोलहरुको कुनै पनि बेला जोखिम देखिएको खण्डमा वडाले नै मर्मत गर्नुपर्ने भए काम अगाडि बढाउँछ नत्र सम्बन्धित व्यवसायिक कम्पनीसंग समन्वयमा काम अघि बढ्छ । यसलाई स्थापित गर्न र सँधै व्यवस्थित राख्न विशेषगरी यस कार्यमा वडावासीकै भूमिका महत्वपूर्ण हुन्छ । आफ्नो आवश्यकता अनुसार तार आफ्नो घरमा लाँदा व्यवस्थित तरिकाले राख्न म मेरा वडावासीलाई यसैमार्फत अनुरोध गर्न चाहन्छु ।
७. नागार्जुन नगरपालिकाभित्र १० वटा वडाहरु छन्, त्यहाँ अरु कसैले पनि यो काम शुरु गरेका छैनन्। तर तपाईंले भने १ नम्बरबाट यसको सफलतापूर्वक सम्पन्न पनि गर्नु भयो। अन्य वडाका तपाईंका समकक्षीहरु के भन्छन्?
मलाई लाग्छ यो काम नगरपालिकाको १० वटैवडामा सुरु भएको देखिँदैन । तर यस वडामा तार व्यवस्थापनको काम सम्पन्न भएकोमा म आफैं निकै खुसी छु र अन्य वडाका प्रतिनिधिहरुले सोध्दा पनि यो कार्य कसरी सम्पन्न भयो र कस्ता जोखिमहरु छन भन्नेबारे मेरो सिकाइ र भोगाईहरु अहिले बताउने गरेको छु ।
काठमाडौँ महानगरले त पनि भर्खर सुरु गरेको छ। नगरपालिकाले पनि आफ्नो कार्यपालिकाको बैठकमा पनि नगर प्रमुखज्युले पनि १ नम्बर वडामा भएको ब्यस्वस्थित तार व्यवस्थापनको काम के कसरी भएको हो त्यो हेरेर अनुसरण गर्नुपर्छ भनेर अन्य वडा अध्यक्षहरुलाई भन्नु भएको छ। त्यसैरी, मलाई पनि अन्य वडाका समकक्षी साथीहरुले पनि तपाईंले यो काम कसरी गर्नु भयो भनेर सोधिरहनु भएको छ। मैले यस कार्यमा देखापर्ने समस्या र चुनौती साथीहरुलाई राखेको छु र उहाँहरु पनि यो काम गर्न उत्साहित हुनुहुन्छ ।
८. वडा अध्यक्षको हैसियतले काम गर्नु भएको पनि भर्खरै एक वर्ष पुरा भयो। अबका वर्षमा हुनसक्ने तपाईंका भावी योजनाहरु के के छन् र यो एक वर्षको अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
मान्छेको सबैभन्दा ठुलो सम्पत्ति भनेको स्वास्थ्य हो। स्थानीय तहमा अहिले जति पनि स्वास्थ्यका कर्मचारीहरुको ठुलो जनशक्ति छ र त्यो जनशक्तिलाई नगरपालिका र वडाले व्यवस्थित ढंगबाट परिचालन गर्न सके स्वास्थ्यको क्षेत्रमा धेरै ठुलो काम हुन सक्ने तर्फ म देख्छु।
हाम्रै वडामा अहिले हामीले पूर्णरुपले अपाङ्ग भएको नागरिकको घरमै पुगेर उपचार गरिरहेका छौं। त्यसैगरी, हामीले अवको वर्षमा वर्षभरिमा ३ देखि ४ पटक विभिन्न ठाउमा स्वास्थ्य शिविर राख्ने जसले गर्दा अहिले वडाबासीले आफ्नो स्वास्थ्यको प्राथमिक उपचार र अन्य थप उपचारका लागि बाटो देखाइदिने कार्य गर्ने योजनामा छौँ । यी स्वास्थ्य शिविरले उनीहरुको रोग पत्ता लगाउन र समयमै उपचार गर्नको लागि सहयोग पुग्ने विश्वाश लिएको छु । र आर्थिक अवस्था कमजोर भएका नागरिकको लागि पनि यसले प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।
अर्को महत्वपूर्ण कुरा, १ नम्बर वडाको तल्लो र माथिल्लो भेगलाई प्राकृतिक भूवनोटले पनि साथ् दिएको छ किनकि नजिकै हाम्रो शिवपुरी- नागार्जुन राष्ट्रिय निकुञ्जको वन छ। यस वडालाई पर्यटनको दृष्टिकोणबाट यसको सम्भाव्यता देखेको छु। निकुञ्जसंगै रहेको पचली भैरवको मन्दिर, बिच्चभगवान थान र नागार्जुन डांडामा रहेको नागार्जुनको मन्दिर र बौद्ध धर्मको सानो गुम्बा यहाँको प्रमुख विशेषता हो। त्यसैगरी, रक क्लाइम्बिङ गर्ने ठाउं र पाप र धर्म छुट्याउने ढुंगाको पार जस्ता ठाउंहरु पनि यही नागार्जुन बनभित्र छ। यस्तै, यहाँ बस्तीमा श्यामर्पा गुम्बा छ, बस्तीभित्र दोश्रो रानीबन जागा एकीकरण आयोजना आइसकेपछि निर्माण भएका दुईवटा रानीबन पार्क संचालनमा आएका छन् जहाँ बच्चादेखि बुढापाका सबै गएर आफ्नो समयको सदुपयोग गर्न सक्छन्।
त्यस्तै, अहिले हामीले पर्यटक पैदल मार्गको काम पनि अघि बढाएका छौँ। यो बालाजुको १६ नम्बर वडा (टौडोल) बाट सुरु भएर नागार्जुन नपाको १ नम्बरकोसीमासम्म हुनेछ। यो पदमार्ग नागार्जुन जंगलकै पर्खालको छेउछाऊ भएर झन्डै ८-९ फिट बाटोसहितको पैदल मार्ग बन्ने छ जुन साढे दुई किलोमिटर छ। देशभर धेरै स्थानीय सरकारले भ्यू टावर बनाइरहेको अवस्थामा हामीले हाम्रा गाउँ ठाउंको पर्यटकीय विकासको लागि भनेर पैदल मार्गको विकासको लागि काम थालनी गरिसकेका छौं। यसले गर्दा वडामा एउटा हेर्न लायक पूर्वाधारको विकास पनि हुनेछ। संगै यो पदल मार्ग स्वास्थ्यसंग जोडिएको छ। यस गाउँमा हरेक दिन बिहान सयौं मानिस मर्निङ वाकका लागि आउने हुँदा यसले अझै स्वास्थ्यामा टेवा समेत पुर्याउने छ किनकी शहर र बस्तिकोबीचमा मर्निङ वाक गर्नुभन्दा शान्त र हरियाली बन भएर हिंडडुल गर्नु राम्रो हुन्छ। यो पैदल मार्ग बन्न सके नागरिकको स्वास्थ्य, पूर्वाधारको विकास र पर्यटकीय हिसाबले हुने आर्थिक लाभको पाटो उत्तिकै महत्वपूर्ण रहेको छ। यसको लागि हामीले अहिले नगरपालिका हुँदै सहरी विकास, प्रदेश र संघीय सरकारमा यो प्रस्ताव लग्ने तयारीमा छौं। यसै आर्थिक वर्षको लागि भनेर ६० लाखको बजेटको काम पनि सुरु गरिसकेका छौँ। जहान अहिले बाटो निर्माण गर्ने र कहिँ ट्रयाक खोल्ने काम भइरहेका छन्।
