काठमाडौँ: नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन खुकुलो मौद्रिक नीति ल्याउन माग गरेको छ ।
सीएनआईका नवनिर्वाचित पदाधिकारी र राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीबीच भएको छलफलमा अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने मौद्रिक नीति ल्याउन सीएनआई आग्रह गरेको हो ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको गभर्नर अधिकारीसँगको भेटमा बताएका हुन् ।
अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै उनले तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पुँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको बताए ।
लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तिमा १२ प्रतिशतले बृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमुलक क्षेत्रमा जोड दिनुपर्ने उनले बताए । उनले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमुलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि औंल्याए ।
सो अवसरमा गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । उनले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए । मुल्य वृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनुपर्ने उनले उल्लेख गरे ।
उक्त भेटमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, राष्ट्रिय परिषद् सदस्यहरू अनलराज भट्टराई, प्राशी अग्रवाल सहभागी थिए ।
