काठमाडौँ: आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।
पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ । ट्रक सडकमै रहेको र पहिरो पनि झरेकाले दुईतर्फी नै आउ-जाउ बन्द भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।
पहिरो हटाउन सुरु गरिएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा पटक–पटक पहिरो खस्ने गरेको छ । पहिरोले हिजो (आइतबार) पनि झण्डै १८ घण्टा बन्द भएको यो सडक साँझ मात्र खुलेको थियो ।
त्यसको केही समयमै फेरि पहिरो खसेर बन्द भएको सडक पहिरो पन्छाएर खुलाइएको थियो।
राजधानी काठमाडौंको लाइफलाइन मानिने यो सडकखण्ड पहिरोले पटक-पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रुहरु घण्टौं जाममा परेर समस्यामा परेका छन् । पहिरो झरिरहेको बेला यात्रा असुरक्षित हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
