रुकुमपश्चिम: रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति दिने जिल्लाको पहिलो पालिकाका रूपमा चौरजहारी नगरपालिकाले बुधबार देखि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो ।
सेवा सुरु गरेकै दिन चौरजहारी नगरपालिका वडा नम्वर १० का धर्म रानाले श्रम स्वीकृति लिनुभएको चौरजहारी नगरपालिकाका रोजगार संयोजक कृष्ण शर्माले जानकारी दिनुभयो । श्रम स्वीकृत गर्न आउनुभएका सेवाग्राही रानालाई कार्यालयमा स्वागत गर्नुका साथै श्रम स्वीकृति प्रदान गरिएको शर्माले बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जान चाहने नागरिकले रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सक्ने जनाउनुभयो । त्यसका लागि रोजगार सेवा केन्द्रमा आवेदन गर्नुपर्ने हुन्छ ।
चौरजहारी नगरपालिकाका उप प्रमुख ईश्वरी शर्मा बिएमले सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको बताउनुभयो । विगतमा श्रम स्वीकृति लिन काठमाडौं पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुहुँदै शर्माले दुर्गमका नागरिकहरुले अब आफ्नै घर नजिकबाट उक्त सेवा लिन पाउने उल्लेख गर्नुभयो । उहाँले काठमाडौं जाँदा पनि समयमा काम नहुने, खर्च बढी हुनेलगायतका थुप्रै समस्याबीच वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेकोमा अब आफ्नै पालिकाबाट उक्त सेवा प्रवाह भएको बताउनुभयो ।
स्थानीय सरकारबाटै श्रम स्वीकृति पाएपछि चौरजहारी नगरपालिका १० का रानाले गाउँमै ठूलो सुविधा भएको बताउनुभयो । उहाँले पहिला यो श्रम स्वीकृति लिन काठमाडौं जानुपर्ने, त्यहाँ होटेलमा बस्न, आउन, जान गाडीभाडा लगायत धेरै खर्च हुने गरेको जनाउनुभयो । श्रम स्विकृति प्राप्त गरेपश्चात रानाले भन्नुभयो, ‘खर्च भए पनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगरिदिने लगायतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियोे, अब भने घरछेउको नगरपालिकाबाटै श्रम स्वीकृत पाउँदा निकै खुसी लागेको छ ।’
गत चैत्र १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार बैशाख १ गतेबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ । सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा जोडेर श्रम स्वीकृतिको लागि अनलाईन आवेदन गर्नसक्ने व्यवस्था गरेको छ ।
