काठमाडौँ: ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका चारजना पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ।
सर्वोच्च अदालतको आइतबारको आदेशलगत्तै तत्कालीन विभागीय विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो। त्यसैगरी राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको छ।
यो प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सर्वोच्चको आदेशलगत्तै जिल्ला अदालत काठमाडौंमा पुगेर ती तीन पू्र्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी लिएको हो।
सर्वोच्चको आदेशपछि यस प्रकरणमा पूर्व सचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो र दीप बस्न्यात पनि फेरि तानिने निश्चित भएको छ। उनीहरुविरुद्ध पनि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको छ। एक उच्चतहका पूर्वसहसचिव एवम् पूर्वनिर्वाचन आयुक्त सुधीर शाह हिरासतमै छन्।
यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमसहित अहिले पक्राउ परिसकेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवम् पूर्वसचिव दीप बस्न्यात फरार छन्। ललिता निवासको ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा अहिले सीआईबीले चारवटा मुद्दामा अनुसन्धान गरिरहेको छ।
यसअघि मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। त्यस्तै माओवादी नेता नेता लीलामणि पोखरेलविरुद्ध पनि मुद्दा चलाइएको थिएन।
