काठमाडौं: मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाँदैछन् ।
मन्त्रिपरिषदको यही बैठकले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय समेत गरेको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई एकसाथ संलग्न नेपाल धितोपत्र निस्कासन सातौं संशोधन नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
अर्थ मन्त्रालयकै प्रस्तावमा धुलिखेल अस्पताल आपतकालीन केन्द्र तथा सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २० करोड ६० लाख जापानी यन अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन योगदान गरेका थिए ।
टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।
