काठमाडौँ: काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यतिबेला (बिहीबार बिहान ७ बजे) गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो।
‘रातिदेखि नै वर्षा भइरहेको छ’, उनले भने, ‘काठमाडौं उपत्यकामा चाहिँ आज बिहान ३ बजेदेखि झरी टाइपको सिमसिम पानी परिरहेको छ।’
उनका अनुसार काठमाडौंमा उपत्यकामा जारी झरी तत्काल रोकिने सम्भावना देखिएको छैन। ‘दिउँसो केही बेर रोकिए पनि साँझतिर फेरि पानी पर्ने सम्भावना देखिएको छ’, मौसमविद् पौडेलले भने, ‘काठमाडौं उपत्यकामा आज त्यस्तो ठूलो वर्षाको सम्भावना त छैन तर झरी परिराख्ने सम्भावना छ, आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न।’
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति पनि सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आफ्नो पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ।
महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– सुदूरपश्चिम प्रदेशलगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
