काठमाडौँ: उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक र धार्मिक सहिष्णुता खल्बल्याउने तत्त्वहरूको सूक्ष्म अध्ययन गर्न नेपाली सेनाको ध्यानाकर्षण गराएका छन् ।
विभिन्न विषयहरूलाई राष्ट्रिय मुद्दाको रुपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खल्बल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभीष्ट पूरा गर्न क्रियाशील तत्त्वहरूलाई राष्ट्रिय सुरक्षाको प्रमुख चुनौतीको रुपमा लिई नेपाली सेनाले आफ्नो प्राथमिकतामा राखी कार्य गर्ने विश्वास पनि रक्षामन्त्री खड्काको छ ।
नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक, २०८० मा उद्घाटन मन्तव्य राख्दै राष्ट्रिय एकता खल्बल्याउनेहरूमाथि सूक्ष्म अध्ययन गर्न आग्रह गरेका हुन् । उनले विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीहरूको बाबजुद र पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवं विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बोधनको आवश्यकता तत्कालीन चुनौतीका रुपमा टड्कारो देखिएको बताए ।
राष्ट्रलाई समृद्धिको यात्रामा अग्रसर गराई बढ्दो जनआकांक्षा पूरा गर्नुपर्ने चुनौतीलाई पनि उनले स्मरण गराएका छन् । मन्त्री खड्काले संविधानतः राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्ने गहन जिम्मेवारी नेपाली सेनाको पनि रहेको बताए । सेनाले अन्य सुरक्षा निकायलगायतका सम्बन्धित निकायहरूसँग प्रभावकारी सम्बन्ध कायम गर्दै भावी चुनौतीहरूको विश्लेषण तथा मूल्यांकन अत्यन्तै प्रशंसनीय ढंगले गर्दै आइरहेको बताए ।
‘सदियौंदेखि हामीबीच कायम रहिरहेको धार्मिक एवं सामाजिक सहिष्णुता खल्बल्याउन उद्दत अवाञ्छित तत्त्वहरूको सूक्ष्म अध्ययन गर्ने आवश्यकताबारे पनि तपाईंहरूको ध्यानाकर्षण गराउन चाहन्छु,’ खड्काले भने, ‘विभिन्न विषयहरूलाई राष्ट्रिय मुद्दाको रुपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खल्बल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभीष्ट पूरा गर्न क्रियाशील तत्त्वहरूलाई राष्ट्रिय सुरक्षाको प्रमुख चुनौतीको रुपमा लिई नेपाली सेनाले आफ्नो प्राथमिकतामा राखी कार्य गर्नेछ भन्ने विश्वास छ ।’
देशका रणनीतिक तथा संवेदनशील क्षेत्रहरूको सुरक्षा एवं वर्तमान समयमा राष्ट्रिय चुनौतीको रुपमा रहेको साइबर स्पेश सुरक्षार्थ नेपाली सेनाबाट लिइएका पहल तथा नेपाल सरकारलाई प्राप्त राय सुझावका लागि रक्षामन्त्रीले आभार व्यक्त गरेका थिए ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रूतमार्ग सडक आयोजनालगायत विभिन्न सडक करिडोरहरूको निर्माण उच्च प्राथमिकता, राष्ट्रिय आवश्यकता र प्रतिष्ठासँग जोडिएको विषय भएकाले विधिसम्मत एवं गुणस्तरीय ढंगले निर्धारित समयमा सम्पन्न गर्न नेपाली सेना सक्षम हुने र यसमा रक्षा मन्त्रालय लगायत सम्बद्ध सबैको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
