काठमाडौँ: आजबाट सडक आन्दोलन गर्दै देशभरका सामुदायिक विद्यालयको पठनपाठन बन्द गरेका काठमाडौँ महानगर भित्रका शिक्षकहरुको हाजिरीमा रातो चिन्ह लगाउन (गयल) काठमाडौँ महानगरले विद्यालयमा महानगर प्रहरी परिचालन गर्ने निर्णय गरेको छ।
सबै शिक्षकहरुले पढाउन छोडेर सडकमै हिजो हाजिरी गर्ने भनेपछि महानगरले हाजिरको ढड्डामा रातो चिन्ह लगाउन नगर प्रहरी परिचालन गर्न लागेको हो।
अहिले शिक्षक विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।