काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुने मन्त्रालयले जनाएको छ ।
