काठमाडौँ: कोशी प्रदेश प्रमुख परशुराम खापुङले सात दिनभित्र सरकार गठनका लागि शनिबार आह्वान गरेका छन् । सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि १६८ को उपधारा (५) अनुसारको सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।
कोशीमा पाँचौं मुख्यमन्त्रीका लागि अर्को राजनीति
सरकार गठनका लागि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २६ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मतका लागि प्रस्ताव राख्ने क्रममा राजीनामा दिने घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए । अब कोशीमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन हुनेछ । पुस ११ गते दोस्रो प्रदेशसभा गठन भएको साढे नौ महिनामा कोशीमा अब पाँचौं मुख्यमन्त्री नियुक्तिको तयारी सुरु भएको हो ।
सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा दिएको कार्कीले बताए । ‘प्रदेश संरचनाप्रति भएको आलोचना, टिप्पणीबाट जोगाउन र स्थायित्व प्रदान गर्न एमाले सहमति र सहकार्यका लागि जेसुकै गर्न तयार छ,’ उनले भने ।
माओवादी, जसपा र राप्रपाको समर्थनमा पुस २४ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका कार्की जसपा र माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । असार १५ मा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भए । त्यसपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठबन्धन दलको समर्थनमा कांग्रेस नेता उद्धव थापा संवैधानिक व्यवस्थाविपरीत तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्याई असार २१ मा दोस्रो मुख्यमन्त्री नियुक्ति भए । तर असंवैधानिक रूपमा थापालाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै एमाले नेता कार्कीले सर्वोच्चमा असार २२ गते रिट निवेदन दायर गरे । सभामुख गौतमको हस्ताक्षरलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले साउन ११ मा मुख्यमन्त्री नियुक्तिको निर्णय खारेज गर्यो ।
सभामुख गौतमलाई पदबाट राजीनामा गराएर बहुमत पुर्याई मुख्यमन्त्री थापा दोस्रो पटक साउन १६ मा तेस्रो मुख्यमन्त्री नियुक्ति भए । सभामुखको जिम्मेवारी सम्हालेकी उपसभामुख सिर्जना दनुवार अध्यक्षमण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई प्रदेशसभाको अध्यक्षताको जिम्मेवारी तोकेर काठमाडौं गइन् । विश्वासको मतको पक्ष/विपक्षमा मतदान गर्ने समय र हस्ताक्षर सच्याउन दिएको समय समाप्त भएपछि मन्सुरीले अध्यक्षमण्डलकै सदस्य गीता तिम्सिनालाई अध्यक्षता गर्न लगाई विश्वासको मतको पक्षमा मतदान गरे । र, पुनः अध्यक्षको आसनमा बसेर मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । प्रतिपक्षी दलका नेता कार्कीद्वारा भदौ ६ गते दायर रिटमा सर्वोच्चले मुख्यमन्त्री थापाको विश्वासको मतलाई अवैधानिक ठहर गर्यो र धारा १६८ को उपधारा (३) अनुसार ४८ घण्टाभित्र सरकार गठनका लागि भदौ २१ गते परमादेश जारी गर्यो । सर्वोच्चको परमादेशले एमाले नेता कार्की भदौ २२ गते दोस्रो पटक चौथो मुख्यमन्त्री बने । अल्पमतमा रहेकाले विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएपछि कोशीमा पाँचौं मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु भएको छ ।
गठबन्धनभित्रै रस्साकसी
उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि बहुमत ४७ सांसदको हस्ताक्षर गराउन सफल हुने सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४०, गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ र राप्रपाका ६ सांसद छन् । गठबन्धन दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपामध्ये मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी छ ।
माओवादी नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको राजनीतिक स्थायित्वका लागि जसको नेतृत्वमा सहज बहुमत पुग्न सक्छ उसैको नेतृत्वमा सरकार गठन गर्ने विषयमा छलफल गरेर निर्णय लिने बताए । यसअघि दुई/दुई पटक मुख्यमन्त्रीमा कांग्रेसलाई सघाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीे नेतृत्वमा सरकारमा जानु उचित हुने उनको भनाइ छ । ‘भोलिको दिनमा आलोपालो नेतृत्व र सत्ता साझेदारी गरेर जान कुनै कठिनाइ छैन, त्यसैले माओवादी नेतृत्वमा सरकार बनाऔं भन्ने हाम्रो प्रस्ताव हो,’ आङ्बोले भने, ‘माओवादीको नेतृत्वमा सरकार गठन भए विश्वासको मत प्राप्त हुने निश्चित छ ।’
२/२ पटक मुख्यमन्त्री नियुक्त हुँदा पनि कांग्रेस नेता थापाले विश्वासको मत प्राप्त गर्न नसक्नुका साथै सर्वोच्चले असंवैधानिक भनेर पदमुक्त गरिदिएकाले विकल्प खोज्नुपर्ने पार्टीभित्रै दबाब बढेको छ । कांग्रेस कोशी संसदीय दलमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका १०/१० र कृष्णप्रसाद सिटौला पक्षका ९ सांसद छन् । सिटौलाका विश्वास पात्र थापाले देउवा पक्षका ८ र कोइराला पक्षका १ सांसदको साथ लिएर १८ मतले दलको नेतामा निर्वाचित भएका थिए । तर अहिले कोइराला पक्षका १० सांसदका साथै देउवा पक्षका हिमाल कार्कीलगायतका बहुमत सांसद प्रदेश सरकारको नेतृत्वका लागि थापाको विकल्प खोज्नुपर्ने भन्दै दबाब बढाइरहेका छन् । सभापति देउवाको निर्णय नै अन्तिम हुने सांसदको भनाइ छ ।
मुख्यमन्त्री नियुक्तिले संघीय सरकारमा आलोपालो नेतृत्व र आउँदो कांग्रेस महाधिवेशनमा पार्टीको नेतृत्व दुवै विषयमा प्रभाव पार्ने अवस्था रहेकाले देउवा दबाबमा रहेको कांग्रेसका एक नेताले बताए । ‘देउवाले सिटौलालाई साथ लिएर थापालाई मुख्यमन्त्रीका लागि निर्णय गर्छन् कि कोइरालालाई विश्वासमा राख्न केदार कार्कीलाई प्रदेश सरकारको नेतृत्वका लागि भन्ने विषय पेचिलो छ,’ उनले भने । तर देउवाले मुख्यमन्त्रीका लागि थापाको विकल्प खोजेको अवस्थामा सिटौलाले प्रमुख सचेतक भूपेन्द्र राई र भीम पराजुलीलाई अगाडि सार्न सक्ने अवस्था देखिएको ती नेताले सुनाए ।
उपधारा (५) बमोजिम नियुक्त हुने मुख्यमन्त्रीलाई पनि उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । बैठकको अध्यक्षता एमालेकी उपसभामुख दनुवारले नगरिदिएको अवस्थामा गठबन्धनलाई राप्रपाको साथ अपरिहार्य हुन्छ । त्यो अवस्थामा राप्रपाले समर्थन नदिए प्रदेश संविधानको धारा १६८ को उपधारा (७) अनुसार मध्यावधि चुनावमा जानुको विकल्प रहँदैन ।
कांग्रेस नेता थापाले राजनीतिक स्थायित्वका लागि गठबन्धनलाई राप्रपाको साथ आवश्यक भएको बताए । प्रदेश र केन्द्रमै राप्रपाका नेतासँग सहमति गरेर सरकार गठन गर्ने उनको भनाइ छ । राप्रपा नेता भक्ति सिटौलाले गठबन्धनले सरकारमा साथ प्राप्त गर्न राप्रपासँग राजनीतिक सहमति गर्नुपर्ने बताए । ‘अघिल्लो चुनावदेखि सहकार्य गरेर आएको एमालेको साथ छोड्नका लागि गठबन्धनले बलियो सहमतिको आधार देखाउनुपर्छ,’ उनले भने ।
