काठमाडौँ: पछिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजारमा आज (सोमबार) भने करेक्सन देखिएको छ। सेयर कारोबार मापन परिसूचक नेप्से ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा झरेको हो।
तीन कारोबार दिनमा ७८ अंकले बढेको बजारमा आज ११.२७ अंकको करेक्सन देखिएको हो। तिहारपछि बजार साढे १८ सय विन्दुबाट निरन्तर बढेर १९ सय नाघ्न सफल भएको थियो। तर, आज सामान्य अंकको गिरावट आउँदा बजार १९ सय विन्दु तल झरेको छ।
आज १९०९ विन्दुमा खुलेको बजार सुरुवाती समयमा उकालो लाग्दै १९२६ विन्दुसम्म पुगे पनि अडिन सकेन।
नेप्सेमा करेक्सन आउँदा कारोबारसमेत खुम्चिएको छ। आज बजारमा १ अर्ब ६९ करोडको कारोबार भएको छ।
आइतबार नेप्सेमा १ अर्ब ९९ करोडको कारोबार भएको थियो।

