काठमाडौँ: नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँस्थित चिनियाँ राजदूत यू होङसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा ऊर्जा संयन्त्रको बैठक र द्विपक्षीय हितका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।
यही असोज ११ र १२ गते नेपाल र चीनबीच पहिलो पटक ऊर्जा संयन्त्रको बैठक बोलाइएको छ । बैठकमा ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र ऊर्जामन्त्रीको आगामी चीन भ्रमणका विषयमा छलफल भएको थियो ।
चीनसँग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ । भेटमा ऊर्जामन्त्री पुनले अन्र्तदेशीय प्रसारण लाइन र जलविद्युत् आयोजना निर्माण लगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुँदा त्यसले दुवै देशलाई फाइदा पुग्ने धारणा व्यक्त गरे ।
नेपालको जलविद्युत् क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै उनले चिनियाँ लगानीकर्तालाई लगानीको वातावरण बनाइदिन आग्रहसमेत गरे ।
नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका ऊर्जामन्त्री पुनले प्रसारण प्रणाली निर्माण गर्नेसम्बन्धी बिम्स्टेक सदस्य राष्ट्रबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे बताउँदै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे । उनले सरकारको विकास र समृद्धिको सपनालाई पूरा गर्न पनि लगानी आवश्यक रहेकामा जोड दिए ।
बङ्गलादेशसँग भएको सम्झौतालेसमेत बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै ऊर्जामन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार बिजुलीको आयात र निर्यातमा कुनै समस्या उत्पन्न नहुने बताए ।
भेटमा चिनियाँ राजदूत होङले ऊर्जामन्त्री पुनको पहलमा पहिलो पटक संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको भन्दै त्यसका लागि धन्यवादसमेत दिएकी थिन्।
उनले संयन्त्र बनेपछि त्यसले दुवै देशको ऊर्जा क्षेत्रलाई फाइदा पुग्ने भन्दै त्यसले सम्भावनाको नयाँ ढोका खोल्ने बताइन। प्रधानमन्त्री केपी शर्मा ओलीको गत असारमा भएको चीन भ्रमणका क्रममा ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर दुवै देशबीच ऊर्जा क्षेत्रमा संयन्त्र निर्माण गर्ने सहमति भएको थियो ।
चिनियाँ राजदूतले संयन्त्रको बैठकमा नेपालले ऊर्जा क्षेत्रको अवस्था र ऊर्जा क्षेत्रको विकासका लागि के–कस्ता नीति सरकारले अघि सारेको छ त्यसबारेमा समेत आफ्नो नीति सार्वजनिक गर्दा चिनियाँ लगानीकर्तालाई सजिलो हुने सुझावसमेत दिए।
चिनियाँ राजदूतसँगको भेटमा चिनियाँ लगानीमा सञ्चालित परियोजनामा भएका समस्या, नेपालले यसअघि वेल्ट एण्ड रोड फण्डमा पठाएका जलविद्युत् परियोजना र प्रसारण लाइनको अवस्था र आगामी दिनमा ऊर्जा क्षेत्रमा गर्ने सहकार्यबारे समेत छलफल भएको ऊर्जामन्त्री पुनको सचिवालयले जनाएको छ ।