काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० मंसिर मसान्त विदेशी मुद्राको सञ्चिति अहिलेसम्मै उच्च विन्दु पुगेको छ । राष्ट्र बैंकअनुसार २०८० मंसिर मसान्तमा विदेशी मुद्राको सञ्चिति १३ अर्ब ३१ करोड डलर पुगेको छ ।
जुन अहिलेसम्मकै उच्च विदेशी मुद्राको सञ्चिति हो । यसअघि २०७७ पुसमा विदेशी मुद्राको सञ्चिति १२ अर्ब ७७ करोड डलर पुगेको थियो ।
त्यसबखत राष्ट्र बैंकले लिएको निकै लचिलो मौद्रिक नीति, ब्याजदर करिडोर सम्बन्धी नियम कार्यान्वयनमा भएको उदासिनता र उपभोगमा बढेको उच्च कर्जा वृद्धीले विदेशी मुद्राको सञ्चिति उक्त विन्दुबाट निरन्तर घटेर २०७९ बैशाखमा ९ अर्ब २५ करोड डलर पुगेको थियो ।
विदेशी मुद्राको सञ्चितिमा गिरावट आउनुको साथै चालु खाता निरन्तर घाटामा गएपछि राष्ट्र बैंकले २०७८ पुसदेखी कसिलो मौद्रिक नीति लिन सुरु गरेको थियो । उक्त नीतिबाट नेपाल राष्ट्र बैंकले यही मंसिरबाट लगभग फिर्ता भएको छ ।
२०७७ पुसमा विदेशी मुद्राको सञ्चिति उच्च विन्दुमा पुग्दा चालु खाता भने घाटामा गईसकेको थियो । २०७७ पुसमा चालु खाता ५१ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो । यसपटक भने चालु खाता १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा छ ।
२०७७ पुसमा विदेशी मुद्राको सञ्चिति उच्च विन्दुमा पुग्दा शोधानान्तर स्थिति १ खर्ब २४ अर्बले बचतमा थियो । यसपटक भने शोधानान्तर स्थिति २ खर्ब १० अर्ब रुपैयाँले बचतमा छ । विगतमा राष्ट्र बैंकले लचिलो नीति लिएपछि २०७७ मंसिरबाट चालु खाता घाटामा जान सुरु भएको थियो ।
२०७७ कात्तिकमा १९ अर्ब १ करोडले बचतमा रहेको चालु खाता २०७७ मंसिरमा २२ अर्ब ९९ करोडले घाटामा भइसकेको थियो । चालु खाताको घाटा निरन्तर बढ्दै जाँनुको साथै अन्तर बैंक ब्याजदर १ प्रतिशत भन्दा मुनि झर्दा समेत राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धी मागदर्शन कार्यान्वयन गरेको थिएन ।
