काठमाडौँ: नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई थ्री स्टार क्लब ललितपुरले क्लबमा अनुबन्ध गरेको छ ।
यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन प्रतियोगिताका लागि थ्रीस्टरले अनिललाई आज क्लबमा भित्र्याएको क्लबका महासचिव सञ्जिव शिल्पकारले राससलाई जानकारी दिए।
“अनिललाई यो सिजनका लागि हामीले क्लबमा अनुबन्ध गरेका छौँ, सम्झौता रकमबारे दुवै पक्षको सहमतिअनुसार सार्वजनिक गर्दैनौँ”, उनले भने।
पछिल्लो समय लक्ष्मी हुन्डाई मनाङ–मस्याङ्दी क्लबका कप्तानसमेत रहेका अनिलले एक सातायताबाट थ्री स्टारबाट प्रशिक्षण गरिरहेका थिए ।
थ्री स्टारले क्लबको जर्सीसहित आफ्नो अफिसियल फेसबुक पेजमार्फत अनिलको तस्वीर राख्दै भनेको छ, “अनिल गुरुङलाई थ्री स्टार क्लबमा स्वागत छ ।” अनिलले अन्तर्राष्ट्रिय फूटबल करियरबाट भने सन्यासको घोषणा गरिसकेका छन् ।
पोखराको साहारा क्लबबाट फूटबल करियर शुरु गरेका अनिलले ब्रिगेट ब्वाइज, थ्रीस्टार, मनाङ मस्र्याङ्दी, न्युरोड टिम (एनआरटी) र भारतको शीर्ष डिभिजनको क्लब सिलोङ लाजोङबाट व्यावसायिक फूटबल खेलिसकेका छन् ।