काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाका बारेमा तपाईसँग केही गुनासो छ ? तपाईको आफ्नो क्षेत्रमा बिना सूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ भने तपाईले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ ।
सेवाग्राहीका यस्तै वा अन्य कुनै पनि प्रकारका समस्या, गुनासो भएमा सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यसअघि नै स्थापित सो हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज हटलाइन सेवामा संलग्न मन्त्रालय र प्राधिकरणका कर्मचारीसँग छलफल गरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।
नागरिकले प्रत्यक्ष रुपमा गुनासो गर्न सक्ने सो सेवालाई प्रभावकारी बनाउन के कस्ता उपाय अवलम्बन गर्नुपर्छ त्यसका लागि मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।
सरकारी निकायले सकेसम्म सेवाग्राहीको गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले गसमस्या आए गुनासो गर्ने निकायका रुपमा रहेको प्रणालीलाई झनै व्यवस्थि बनाउनुपर्ने बताउनुभयो ।
नागरिकले प्रत्यक्ष भोगेका र अनुभव गरेका गुनासो सुन्ने मात्रै नभई त्यसको समाधानका लागि समेत हटलाइन सेवामा कार्यरत कर्मचारीले विशेष ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । “गुनासो आउने बित्तिकै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुस् । समस्या समाधानका लागि जनशक्ति परिचालनको प्रबन्ध गराउन पहल गर्नुस् । नागरिकले प्रत्यक्ष रुपमा सेवा सहज तवरले पाउनुपर्छ । कुनै पनि बाहाना गर्न पाइदैन र मिल्दैन” ऊर्जामन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले गुनासो टिपाउनका लागि सहज रुपमा प्राधिकरणका सबै कार्यालय, वितरण केन्द्रमा सूचना पार्टी राख्न, यसअघि राखिएको भए त्यसलाई व्यवस्थित गर्न समेत निर्देशन दिनुभयो । “ कतिपयले त गुनासो गर्ने माध्यम थाहा नपाएर पनि बसेका हुन्छन्, त्यस्तालाई सहज तवरले गुनासो गर्ने वातावरण बनाउनुपर्छ ” मन्त्री बस्नेतले भन्नुभयो । उहाँले जिल्लामा रहेका एफएम रेडियो वा अन्य सञ्चार माध्यमबाट पनि प्रचार प्रसार गरी सो सेवाका बारेमा जानकारी गराउन आवश्यक व्यवस्था मिलाइने बताउनुभयो ।
सरकारले पैसा नलाग्ने नम्बर यसअघि नै सञ्चालनमा ल्याएको थियो । सो हटलाइनमा दैनिक औसतमा चार दर्जनको हाराहारीमका गुनासो आउने गरेको छ । गुनासो आउने बित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिनुभयो ।
समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उहाँले बताउनुभयो । विशेष गरी लाइन काटिएको, भोल्टेज कम आएको जस्ता गुनासो बढी आउने गरेको उहाँको भनाइ छ । हटलाइन सेवा हाल तीन वटै सत्रमा सञ्चालनमा छ । त्यसलाई थप व्यवस्थित बनाउन मन्त्रालयकातर्फबाट प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मनत्री बस्नेतको भनाइ छ ।
हरेक जसो वितरण केन्द्रमा ठूला ठूला अक्षरमा ‘फ्लेक्स बोर्ड’ राखिने भएको छ । मन्त्रालय र प्राधिकरणसँग जोडिएका कुुनै पनि समस्या वा गुनासो सुन्ने र समाधानका लागि आवश्यक व्यवस्था मिलाइने मन्त्री बस्नेतको छ । हटलाइन सेवामा कार्यरत कर्मचारीले हरेक दिन आएको गुनासो लिपीबद्ध गरी मन्त्रालय र प्राधिकरणलाई समेत उपलब्ध गराउने गरेको छ ।
सेवालाई थप चुस्त दुरुस्त बनाउने अन्य उपाय के हुन सक्छ ? सामाजिक सञ्जाल वा अन्य माध्यममा समेत सहज रुपमा गुनासो राख्ने उपाय के हुन सक्छ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सञ्चालनमा रहेको हेलो सरकारसँग के कसरी मिलेर काम गर्न सकिन्छ भन्नेलगायतका विषयमा समेत मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ ।
मन्त्री बस्नेतले आएका गुनासोलाई आफ्नै समस्या सम्झेर समाधान गर्न, सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउनु समेत जरुरी रहेको बताउनुभएको थियो । तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा सो सेवा प्रारम्भ गरिएको थियो ।
Trending
- एकैदिन ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
- सरकारीबाहेक १० हजार बढी शिक्षण संस्था सञ्चालनमा
- रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी
- रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकका लागि पाँचबुँदे नियम
- महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- नेपाललाई ग्रे–लिस्टमै राख्ने निर्णय
- ट्युनिसियामाथि जापानको ४–० को सानदार जित, ट्युनिसिया समूह चरणबाटै बाहिरियो
