काठमाडौँ:
संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको बैठकले माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘यही माघ २२ गते अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भनिन्।
यस्तै जापान सरकारबाट प्रस्तावित करिब ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय भएको उनले बताइन्।
मन्त्रिपरिषद बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनीत गर्ने निर्णय पनि गरेको छ।
