सङ्खुवासभा: सङ्खुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगको छ ।
बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत गृहको निर्माण कार्यमा एकमुष्ट उक्त परिमाणमा प्रगति पुगको हो ।
परियोजनाको मकालु गाउँपालिका ५ स्थीत फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भईरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नु पर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खन्ने काम सम्पन्न भईसकेको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवर्धक सतलज जलविद्युत निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । खनेर माटो निकालिसक्ने बित्तिकै ढलानको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
बाँध स्थलबाट विद्युत गृहसम्मको ११ किलोमिटर सुरुङ यस अघि नै खुलिसकेको छ । प्रमुख कार्यकारी अधिकृत धिमानका अनुसार हाल उक्त सुरुङ भित्र हेडिङ्ग, बेञ्चिङङ्ग र कङ्कृड (अर्ध गोलाकारमा ढलाई) को काम भईरहेको छ । उक्त कार्य समेत सम्पन्न हुन लागेको अधिकृत धिमानले जानकारी दिनुभयो ।
यता चिचिला गाउँपालिका ३ पुखुवा दोभानमा धमाधम विद्युत गृह निर्माण भईरहेको छ । यहाँको सम्पूर्ण संरचना जमिन भित्र नै रहने अरुण तेश्रो जलविद्युत परियोजनाका उपमहाप्रवन्धक रमेश चन्द्र सुलेरियाले जानकारी दिनुभयो ।
यस अघि नै आवश्यक २ वटा हल (कोठा) निर्माण भईसकेको र अहिले केहि भागमा ढलानको काम भईरहेको र केहिमा उपकरणहरु राख्ने कार्य भईरहेको सुलेरियाले जानकारी दिनुभयो । सो हल भित्र २ वटा टर्वाईन जडान गरि विद्युत उत्पादन गरिनेछ ।
परियोजनामा कुनै अवरोध नभएमा अबको करिव २ बर्ष भित्र सम्पुर्ण निर्माण कार्य सम्पन्न हुने बताईएको छ । स्थानीयले मुआब्जा नपाएको भन्दै पटक पटकको अवरोधले निर्माण कार्यमा असर पुगेको बताउनुहुँदै प्रसारण लाईन निर्माणको क्रममा समेत ठाउँठाउँमा अवरोध रहेको उपमहाप्रबन्धक सुलेरियाले जानकारी दिनुभयो ।
४ सय केभि क्षमताको प्रसारण लाईन निर्माणको लागि सङ्खुवासभामा बढि अवरोध रहेको उहाँले बताउनुभयो । त्यस्तै, भोजपुरको ट्याम्के मैयुम गाउँपालिकामा पनि सामान्य अवरोध रहेको उहाँले जानकारी दिनुभयो । बाँकी जिल्लामा भने धमाधम काम भईरहेको उपमहाप्रबन्धक सुलेरियाले जानकारी दिनुभयो ।
अरुण तेश्रो जलविद्युत परियोजनाबाट स्थानीयले परियोजना सम्पन्न भईसकेपछि मात्र शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा ब्यवस्था गरिएको छ ।
परियोजनाले ब्यवसायिक उत्पादन गर्न थालेको एक बर्ष भित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख गरिएको छ । पिडिए अनुसार यस परियोजनाबाट १ सय ६० करोड रुपैयाँ स्थानीयलाई शेयर दिईनेछ । उक्त शेयर रकम मध्ये पहिलो किस्तामा ५० प्रतिशत (८० करोड) र पहिलो उत्पादन बर्ष सकिएपछि तर दोश्रो उत्पादन बर्षको अन्त्य अघि बाँकी ५० प्रतिशत शेयर वितरण गरिने छ । शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ ।
१ खर्व ४ अर्व लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलब ९ प्रतिशत निशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शिर्षकमा ३ खर्ब ४८ रुपैयाँ आर्थिक लाभ मिल्नेछ । विद्युत उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रति महिना ३० युनिटसम्म विद्युत निशुल्क प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ बर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ ।

