काठमाडौँ: कृषि व्यवसाय गरी कृषिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ ।
शुक्रबारदेखि बनेपामा सञ्चालन भएको काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सवमा कृषि क्षेत्रमा लाग्ने छ किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सिन्धुपाल्चोक जिल्लाबाट ट्राउट माछा उत्पादन गर्नुहुने हेलम्बु गाउँपालिका–४ का दीपककुमार लामिछानेलगाएतलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

लामो समयदेखि कृषि पेशामा संलग्न रही आलु तथा आलुको बीउ उत्पादन गर्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ का राजेन्द्र थापा, आलु उत्पादन गर्ने पाँचखाल नगरपालिका–१२ का बद्रिप्रसाद ढुङ्गाना र पशुपालन व्यवसायमा लाग्नुभएका बेथानचोक गाउँपालिकाका रुपेश पाख्रिनसम्मानित हुनु भएको छ ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाबाट घाँस उत्पादन गर्ने मेलम्ची नगरपालिका–११ का राजकुमार ढकाल र बाख्रापालन गर्ने भोटेकोशी गाउँपालिका–१ का विनोद प्रधानलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कारबाट सम्मान गरिएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो ।
सम्मानित छ जना किसानलाई जनही नगद पन्ध्र हजार, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
आज राष्टपतिको बाहुलिबाट ऊत्कृष्ट राष्टपति कृषक पुरस्कारबाट सम्मानित हुन पाउँदा अत्यन्तै गर्भानुभुति भएको लामिछानेले बताउनु भयो ।
सो कार्यक्रमबाट प्राप्त नगद १५००० रुपैयाँ हेलम्बु ४ का आगलागी पिडित बच्चाहरुको उपचारको निम्ति हस्तान्तरण गरिसकेको लामिछानेले बताउनु भयो।
