काठमाडौँ: दुई दिनदेखि राजधानीमा देखिएको पेट्रोलियम पदार्थको अभाव टार्न पेट्रोलियमका ट्याङ्करहरु सुरक्षा निकायले ल्याउने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले भन्यो, “सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने तयारी गरेका छौँ।”
प्लेन चार्टर गरेर भए पनि सुरक्षा निकायका क़रीब ६० चालकहरुलाई देशका विभिन्न डिपोहरूमा पठाउन लागिएको मन्त्रालयले बतायो।
सुरक्षा निकायका चालकलाई भैरहवा र सिमरा आजै पठाइएको पनि मन्त्रालयले जनाएको छ।
हड्तालमा उत्रिएका चालकहरुबाट साँचो लिएर ट्याङ्कर काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।
यता, आयल निगमले भने तत्कालका लागि निधन अभाव टार्न कोटा प्रणाली लागु गर्ने बताएको छ।
ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।
यसबारे निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गरेको पनि जनाइएको छ।
निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल उपभोक्तालाई दिन पत्राचार गरिएको छ भने हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।