काठमाडौँ:
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
यतिबेला (आइतबार बिहान) देशभर साधारणतया बदलीको अवस्था छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशका धेरै ठाउँमा र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखााले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
देशका बाँकी भूभागको थोरै स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

