काठमाडौँ: इलेक्ट्रोनिक चुरोट (भेप) मा राखेर सुन तस्करी गरेको प्रकरणमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।
सुन तस्करी प्रकरण जाँचबुझ गर्न गठित आयोगले महरा सहितलाई मुद्दा चलाउन सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ।
यस्तै आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपी दुर्गा दाहाल, रूगम कुँवरविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको स्रोतको दाबी छ।
उनीहरूले अनुसन्धान फितलो बनाउन भूमिका खेलेका, अभियुक्तलाई भगाएकाले मुद्दा चलाउनुपर्ने आयोगको निष्कर्ष छ।
यसैगरी अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ। अधिकारीको सुन तस्करी अभियोगमा थुनामा रहेका दावा छिरिङसँग सम्पर्क देखिएको आयोगको ठहर छ।
यसैबीच प्रहरीको सिआइबी प्रमुख बज्राचार्यलाई विभागीय कारबाहीको तयारी गरिएको छ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाउने तयारी भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। थप कारबाहीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको पनि ती अधिकारीको दाबी छ।
‘सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको सिफारिस पूर्ण कार्यान्वयन हुन्छ,’ प्रहरीका एक उच्च अधिकारीले सेतोपाटीसँग कुरा गर्दै भने।
सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारवाहीको सिफारिस गरेको छ।
बज्राचार्यलाई विभागीय कारवाहीका लागि निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले पनि जानकारी दियो।
उनका अनुसार गृह मन्त्री रवि लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीसहितका अधिकारीहरूलाई बोलाएर एआइजी बज्राचार्यलाई निलम्बन गर्न निर्देशन दिएका थिए।
