दैलेख: दैलेखको शिरिस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण तथा उत्खनन् लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख आइपुगेका छन् । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामान सहितका पाँच वटा साना ट्रक पहिलो चरणमा सोमवार दैलेख आइपुगेका हुन् ।
यहाँको भैरवी गाउँपालिका –१ जलजलेमा उत्खनन्का लागि अन्तिम ड्रिलिङ सर्वेको कामका लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख आइपुगेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मिनी ट्रक २२ वटा र एउटा १२ चक्के ट्रक जलजलेमा पुगेको छन् । उहाँले साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठूला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हँुदै जलजलेमा पग्न लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘१२ चक्के ट्रक मध्यहाडी राजमार्ग अन्तर्गत दुल्लु नगरपालिका –९ पादुकामा आएको र मोड नपुगेका कारण रोकिएको खवर पाउन बित्तिकै जेसीबी लगाएर मोड बनाउन लागिएको छ ।’
पेट्रोलियम पदार्थ उत्खनन् लागि चीनबाट ल्याइएका उपकरण र उपकरण बोकेका ट्रकहरुको भन्सार राजस्वको विवादले नेपालगन्ज नाका रुपइडिहामा झण्डै तीन साता रोकिएकोमा अर्थमन्त्रालयले निर्णय गरेपछि उपकरण बोकेका ट्रक धमाधम जलजलेमा आउने लागेको परियोजनाले जनाएको छ ।
खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले पेट्रोलियम पदार्थको अन्तिम अन्बेषणका लागि १५० वटा ट्रक जलजलेमा पुग्ने जानकारी दिनुभयो । उहाँले दश वटा मिनी ट्रक जलजलेमा पुगेको र अवको एक÷दुई दिनमा १५० वटा ट्रक त्यहाँ पु¥याइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अन्वेषणका लागि उपकरण ल्याउन कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेखको साँगेतडासम्म र चामुण्डाविन्दासैनी नगरपालिकादेखि मध्यपहाडी राजमार्गको जलजलेसम्म सडक फराकिलो बनाएपछि उपकरण बोकेका ट्रक जलजलेसम्म पुग्न सहज भएको छ । ’
नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जिओ केमिकल स्याम्पलिङ सर्वे गरी चार वटा सर्वेका काम गरिएको थियो ।
यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिन मार्फत अन्वेषण सकिसकेको छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्वे कम्पनीसँग दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको अधिग्रहण गरिसकेपछि आवश्यक पुर्वाधारहरु धमाधम निर्माण गरिरहेको छ । अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनिसम्म ‘ड्रिलिङ’ गरिनेछ । ड्रिलिङपश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ ।
