काठमाडौँ:
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले पहिलोपटक आफूले आफैँलाई भोट हाल्न पाउँदा रोमाञ्चक अनुभूति भएको बताएका छन्।
शुक्रबार बिहान इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविस्थित मतदान केन्द्र पुगेर मतदान गरेपछि संक्षिप्त कुरा गर्दै लिम्बुले जीवनमा पहिलोपटक आफैँ उम्मेदवार र मतदाता दुवै हुँदा फरक अनुभव भएको प्रतिक्रिया दिएका हुन्।
‘विगतमा मतदाताका रूपमा थिएँ। अहिले उम्मेदवारका रूपमा आफूले आफैँलाई भोट हालेको छु। यो यात्राले अत्यन्तै उत्साह प्रदान गरेको छ’, उनले भने, ‘यो क्रममा जनताले परिवर्तनको नयाँ समय माग गरेको अनुभव गरेको छु। यो यात्राले सुशासन र समृद्दिको यात्रामा कोसेढुंगा साबित हुनेछ।’
साथै उम्मेदवार लिम्बुले जनताले मत दिएर इलामको माटो र बासिन्दाको सेवा गर्ने अवसर दिने विश्वास पनि व्यक्त गरे।
उनले भने, ‘आशा छ, जनताले दिएको यो मतले यहाँका माटो र जनताको घरमा सेवा गर्ने मौका मिल्नेछ।’
यस क्रममा उनले अहिलेसम्म इलाममा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी पनि दिए।
