काठमाडौँ: चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धिदरबारे प्रक्षेपण गरेको हो।
कार्यालयका अनुसार उपभोक्ता मूल्यमा उक्त आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत रहनेछ।
त्यसैगरी अर्थतन्त्रको आकार समेत ५७ खर्ब ०४ अर्ब रहने कार्यालयको प्रक्षेपण छ।
आईएमएफले यसअघि सार्वजनिक गरेको भन्दा आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको हो । गत असोजमा सार्वजनिक इकनोमिक आउटलुकमा सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख थियो ।
सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, अर्थतन्त्र चलायमान नहुँदा आधाभन्दा केहिबढि मात्र आर्थिक वृद्धि हुने भएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैर कृषि क्षेत्रको ३.७५ प्रतिशतले हुनेछ ।
गत वर्ष देशको अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले विस्तार भई आकार (उपभोक्ता मूल्यमा) ५३ खर्ब ४८ अर्ब पुगेको थियो ।
गत वर्षको संशोधित आर्थिक वृद्धिदर (आधारभुर मूल्यमा) २.३१ प्रतिशत रहेको छ ।
सरकारले गरेको अनुमान विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकले गरेको अनुमान भन्दा धेरै हो । विश्व बैंकले यस वर्ष नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले, मुद्रा कोषले ३.१ प्रतिशत र एडीबीले ३.६ प्रतिशतले विस्तार हुने अनुमान गरेका थिए । यस्तै नेपालको निजी क्षेत्रका तफबाट नेपाल व्यवस्थापन संघले आर्थिक वृद्धि ३.०९ प्रतिशत हुने अनुमान गरेको थियो ।
