काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिन संसद् सचिवालयलाई पत्राचार गरेका छन्। जेठ ७ गते विश्वासको मत लिनका लागि पत्राचार गरिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने संविधानको धारा १०० को उपधारा २ मा उल्लेख छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते सरकार छाड्ने निर्णय गरी समर्थन पनि फिर्ता लिएको थियो। यही कारण विश्वासको मत लिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संवैधानिक प्रावधानअनुसार यो जेठ महिनाभरिमा विश्वासको मत लिने सुविधा प्रधानमन्त्रीसँग छ।
