नवलपुर, जेठ २०:
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटलाका आरोपीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
प्रतिनिधि सभा सदस्य गीता बस्नेतसहित ३५ जनाविरुद्ध आइतबार मुद्धा दर्ता भएको जिल्ला न्यायाधीवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयले राप्रपाबाट बर्दियाकी प्रतिनिधि सभा सदस्य गीता बस्नेत, बस्नेतका ज्वाँईं नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने बर्दियाकै शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको हो ।
सोही रायअनुसार सरकारी वकिलको कार्यालयले एकहप्ता अनुसन्धान गरेपछि आइतबार सबै ३५ जनाविरुद्ध मुद्दा दर्ता गरेको न्यायाधिवत्ता घिमिरेले जानकारी दिनुभयो ।
प्रतिवादी बनाइएकामध्ये रिमाल, पाण्डे, शर्मा, लामिछानेलगायत १० जना हाल प्रहरी हिरासतमा छन् भने सांसद बस्नेतसहति २५ जना फरार रहेको र उनीहरुको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।
प्रहरीले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
यसअघि सहकारी रजिष्टारको कायालय गण्डकीले पनि यति नै रकम हिनामिना गरेको प्रतिवेदन बुझाएको थियो ।
रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्टारको कार्यालयको अनुसन्धानबाट खुलेको छ ।
७ वर्षसम्म सहकारीको अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई विनाधितो ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
‘छिपछिपे उपभोक्ता सहकारी संस्थामा सेयर सदस्यसमेत नरहेका व्यक्तिलाई पनि नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, ‘कावासोतीमा कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब १ करोड रकम लगिएको छ । त्यहा रकम लैजानपर्ने कुनै कारण देखिदैन ।’
बर्दियाका पाण्डेले आफु निकटका नगेन्द्रबहादुर रिमालले बर्दियामा संचालक गरेको कृष्णसार रिर्सोटमा सहकारीको रकम सोझै लगानी गरेको पनि अनुसन्धानले देखाएको छ । राप्रपाबाट प्रतिनिधि सभा सदस्य बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले एक महिनाअघि पक्राउ पुर्जी जारी गरे पनि उहाँ अझै फरार हुनुहुन्छ ।
