काठमाडौँ: यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी भूभागहरूबाट मनसुन भित्रिएपनि पश्चिमी भूभागमा अत्यधिक गर्मी छ। काठमाडौंमै आइतबार र सोमबार अत्यधिक गर्मी छ। पश्चिम तराईका भूभागहरूमा तातो हावा नै चलेको छ।
पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तातो हावा चल्ने सम्भावना रहेको मौसमविद अधिकारीले बताए। पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन कम्तिमा पाँच दिन लाग्छ। तर पश्चिमी भूभागहरूमा अहिलेको मौसम हेर्दा मनसुन देशभर फैलन केही बढी समय लाग्न सक्नेछ। मनसुन अहिले विस्तारै पूर्वबाट पश्चिमी भूभागहरूमा बढ्दै गरेको मौसमविद अधिकारीले बताए।
यसपालि मनसुनको अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन मौसम विज्ञान विभागले गरेको छ। अघिल्लो वर्ष जेठ १८ देखि असोज १३ गतेसम्मको अवधिमा १ हजार ३०३.० मिलिमिटर वर्षा भएको थियो। चार महिनाको अवधिमा १ हजार ४७२ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा सरदरभन्दा ११.५ प्रतिशत कम मिलिमिटर वर्षा भएको थियो।
